ताजा समाचार

प्रधानमन्त्री जेठ १७ गते भारत भ्रमणमा जाने

- न्यूज नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री बनेको पाँच महिना पछि उनी दक्षिणी छिमेक भारत भ्रमणमा जान लागेका हुन् । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन । ‘भारत जाने जेठ १७ गते फिक्स्ड भयो । अब शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए । जेठ १५ गते बजेट सार्वजनिक भएपछि १७ गते उनी भारत जाने तय भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org