ताजा समाचार

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको आज शनिवारको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले सो कुरा बताउनु भएको हो । यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने उहाँले बताउनु भयो । छानबिनमा सरकारको सहयोग रहने उहाँको भनाइ छ ।

‘कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा व्यक्त विचार हुनु उचित होइन, यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको छ’, प्रधानमन्त्री दाहालले भन्नुभयो । जलहरीलगायत क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोष भएकाले सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नरहेको उहाँको भनाइ छ ।

बैठकमा सभामुख देवराज घिमिरेले यही जेठ १० गते नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद लेखनाथ दाहालले प्रयोग गरेको विचारभित्र ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org