ताजा समाचार

न्यायाधीश रेग्मीको इजलासमा हुँदै गौर नरसंहारको सुनुवाइ

काठमाडौं । रौतहट सदरमुकाम गौरमा नरसंहार भएको १६ वर्षपछि घटनाबारे आज सर्वोच्च अदालतमा सुनवाइ हुँदै छ । पीडित परिवार र आफन्तका तर्फबाट आइतबार त्रिभुवन साहले दायर गरेको रिटमा नरसंहारका दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरिएको छ ।

नरसंहारविरुद्धको रिट सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । रेग्मीको इजलासको पेसी सूचीमा नरसंहारविरुद्धको रिट अन्तिम नम्बरमा छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा छानबिन नभएपछि पीडित परिवार र आफन्तले सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत निकायलाई विपक्षी बनाएर दायर रिटमा आजदेखि सुनवाइ हुन लागेको हो ।

तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेका थिए । त्यसक्रममा हिंसात्मक झडप हुँदा २७ जनाको मृत्यु भएको थियो ।

०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको सो घटनामा संलग्न रहेको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रौतहटले सम्बोधन गरेको थिएन ।

यसअघि, राष्ट्रिय मानवअधिकार आयोगले गौर घटनाका सम्बन्धमा यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org