ताजा समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको व्यावसायिक उडान सुरु

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ ।

मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको हो ।

नेपाल एयरलाइन्सको तालिकाअनुसार सोमबार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० मंगलबार क्वालालम्पुरबाट भैरहवामा अवतरण भएको हो ।

उक्त विमान आज बिहान ८ः५५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका प्रवक्ता विनोदसिंह रावलले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्नेछ । भैरहवामा केही यात्रुलाई ओरालेर उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नेछ ।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।

सो विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७९ जेठ २ गते उद्घाटन गरेपछि विमानस्थल सञ्चालनमा आएको थियो ।

यसअघि, उक्त विमानस्थलबाट कुवेतको जजिरा एयर र नेपालको हिमालयन एयरलाइन्सले उडान सुरु गरेका थिए । तर, अहिले ती दुवै एयरलाइन्स कम्पनीले त्यहाँबाट उडान बन्द गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org