ताजा समाचार

‘सिचुवान एयरलाइन्स’ बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने

दक्षिण एसियामै पहिलोपटक पोखरामा 'ड्रागन बोट रेस फेस्टिबल'

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भाेलि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर अवतरण गर्ने भएको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो ।
पोखरा महानगरपालिका, चिनिया दूतावास र पर्यटन बोर्डको संयुक्त कार्यक्रममा असार ८ र ९ गते पोखरामा बोट रेस आयोजना हुँदैछ ।
सोही बोट रेस कार्यक्रमका लागि खेलाडीसहित १२० भन्दा बढी चिनियाँ पर्यटकहरू उक्त जहाजमार्फत नेपाल आउँदैछन् ।

सोही अवसरमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झर्नेछन् ।

जेठ २७ गते अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो चीन भ्रमणमा गएका छन् । यी भ्रमण टोलीका सबै नौ जना नै पोखरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको प्रवक्ता निरौलाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org