ताजा समाचार

माओवादी लडाकु शिविरहरूमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्नुपर्छः कांग्रेस सांसद राणा

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरू रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकिर गर्दै राणाले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताए ।

‘लडाकुको विषयमा पनि समस्याहरू अहिले देखिएको छ । त्यो फाइल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह पनि गर्न चाहन्छु,’ राणाले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीका आफ्नै पार्टीका मान्छेहरूको नाम आएको छ । त्यस्ता मुद्दाहरू पनि छायामा नपरोस् भन्ने मेरो आग्रह छ । यो हामी सबै नेपालीको माग हो ।’

ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै राणाले त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरूलाई पनि सरकारले अघि बढाउनुपर्नेमा जोड दिए ।

‘ललिता निवासको फाइल खोलिएको छ । त्यो ठीकै छ । कारबाही हुनुपर्छ,’ राणाले भने, ‘भ्रष्टाचारलाई कारबाही हुनुपर्छ । करप्सनमा जिरो टोलरेन्स हुनुपर्छ भन्ने कुरामा म र मेरो पार्टी क्लिएर छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org