ताजा समाचार

६ छोरीपछि छोरा चाहियो भन्ने श्रीमानलाई डिभोर्स दिन खोज्दा अदालतको अस्वीकार

काठमाडौं । चीनको एक अदालतले ६ छोरी भएको एक महिलालाई आफ्नो पतिसँग सम्बन्धविच्छेद गर्न दिन अस्वीकार गरेको छ ।

छोरा नजन्माएसम्म श्रीमतीले बच्चा जन्माउन जारी राख्नुपर्ने भन्ने ती पुरुषलाई डिभोर्स गर्न नदिएपछि अहिले जनआक्रोश उत्पन्न भएको छ ।

मध्य चीनको हुनान प्रान्तकी सियोङ थरकी ती महिलाले ओउ थरका आफ्नो श्रीमानलाई डिभोर्स गर्न चाहेकी थिइन् । तर, अदालतले उनलाई घर फर्किन र परिवारको हेरचाह गर्न आदेश दिएको हो ।

अदालतको यो आदेशपछि सामाजिक सञ्जालमा चिनियाँ नागरिकले ती महिलाप्रति सहानुभूति राखिरहेका छन् भने अदालतको निर्णयको विरोध भइरहेको छ । सन् २०१५ मा बिहे गर्नुअघि यो दम्पतीसँग चार छोरीहरू थिए र त्यसपछि जुम्ल्याहा छोरी जन्मिएका थिए ।

सियोङले ६ जना छोरी हुर्काउँदा आफू थाकेको बताएकी छन् । तर, ओउले छोरा नजन्मिएसम्म सन्तान जन्माउन रोक्न नसक्ने भन्ने गरेको र आफूलाई बच्चा जन्माउने मेसिनका रुपमा हेरेको भन्दै उनले दु:ख पोखेकी छन् ।

सन् २०१९ को अक्टोबरमा धेरै नै भएपछि उनी आमाबुवासँग बस्न गएकी थिइन् । गत जुनमा मात्रै ओउसँगको विवाह सफल नभएको भन्दै डिभोर्सका लागि स्थानीय अदालतमा उनले निवेदन दिएकी थिइन्, तर अदालतले अस्वीकार गरेको हो ।

सुनुवाइको क्रममा न्यायाधीश तान मेङ्सीले सियोङले छोरीहरूलाई हुर्काएर आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको भनेका छन् । विवाह टुटेको प्रमाणित गर्न नसकेको भन्दै उनलाई घरपरिवार सम्हाल्न आदेश दिएको हो ।

चिनियाँ सामाजिक सञ्जाल विबोको समाचार पोस्टमा यो विषयले चर्चा पाएको छ । १२ हजारभन्दा बढी कमेन्ट गरिएको यो पोस्टमा धेरैले उनलाई सहानुभूति दिएका छन् भने, अदालतको आलोचना गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org