ताजा समाचार

सदन खुलाउन प्रधानमन्त्रीले ओली र देउवासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको अवरोध खुलाउने पहल स्वरुप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ । स्रोतले भन्यो, ‘शीर्ष नेताबीचको छलफल सदनको अवरोध खुलाउने विषयमा केन्द्रित हुनेछ ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

तर सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको बेला उनले छलफल गर्न लागेका हुन् ।
एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा अहिलेसम्म कायम रहेकाले आजको छलफलबाट निकास निस्किने सम्भावना भने देखिएको छैन ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले हामी आज पनि त्यसै अनुसार प्रस्तुत हुन्छौं ।’
सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसयता एमाले, रास्वपा र राप्रपाले सदनमा अवरोध गर्दै आएका छन् ।
गत शुक्रबार बस्ने तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org