ताजा समाचार

वियोगमा पाएको साथले थप जिम्मेवारीबोध भएको छः प्रधानमन्त्री प्रचण्ड

‘सीताको अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर शान्त मृत्युवरण गरिन्’

काठमाडाैँ ।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पत्नीवियोगमा परेको बेला भएको साथले जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन् ।

मंगलबार बालुवाटारमा सीता दाहालको निधन भएको सातौँ दिन श्रद्धाञ्जलीसभा गरिएको थियो ।

सो श्रद्धाञ्जली समभा प्रचण्डले शोकको यो घडीमा दिएको साथ, समवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्किन मद्दत मात्र गरेको नभई थप जिम्मेवारीबोध भएको र प्रेरणा मिलेको बताए ।

उनले आफूले र आफ्नो परिवारले समाजप्रति प्रेरित महसुस गरिरहेको बताए । उनले भने, ‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, साँस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र यहाँहरु सबैको सदभाव र समवेदनाले व्यक्त गरेको हामीले महसुस गरेका छौं ।

प्रचण्डपत्नी सीता दाहालको गत सोमबार ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

श्रद्धाञ्जली कार्यक्रमलाई प्रधानमन्त्री दाहालले मात्र सम्बोधन गरे । उनको लिखित सम्बोधनको संक्षेप यस्तो थियोः

मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पिडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ । साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं ।

पछिल्ला वर्षहरुमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यू व्यहोर्‍यौं । शरीरले साथ दिएसम्म यो पिडामा उनी पनि दृढतापूर्वक उभिइन् । बिरामी भएपछि राज्यबाट सुविधान नलिइकन उपलब्ध सबैखाले पद्दतिबाट उपचारको प्रयास गरिरह्यौं । थला नै परेपछि अन्तिम अवस्था दुखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् । साढे सात बजे हामीले हस्पिटल लगेको थियौं, साढे आठमा हामी सबैबाट बिदा भइन् ।

उनको मृत्युर्मा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले म र मेरो परिवारलाई देश र जनताप्रति अझै ठूलो जिम्मेवारीवोध भएको छ । मैले बाँकी जिवनमा झनै सक्रिय र सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ। सबैको सहानुभूतिले हाम्रो पीडामा ठूलो मल्हम लगाउने काम गरेको महसुस भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org