ताजा समाचार

लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको सरकारको समन्वयमा निजी क्षेत्रलाई समेत साथ लिएर कार्ययोजना बनाउने निर्णय गरेको हो ।

कृषि, पशुपंक्षी विकास मन्त्रालयका एक अधिकारीका अनुसार लम्पी स्किन रोगविरुद्धको खोप व्यवस्थापनलाई उच्च प्राथमिकता दिने निर्णय पनि केन्द्रीय अनुगमन समितिले गरेको छ । यस्तो कामको नेतृत्व कृषि मन्त्रालयले गर्ने भएको छ । लम्पीको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरु मर्ने क्रम रोकिएको छैन । लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । त्यसपछि यो रोग अन्य देशमा विस्तार भएको थियो ।

पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रूप लिएको छ । गाईभैंसीमा लाग्ने लामखुट्टे, किर्ना, झिंगा लगायतको टोकाइबाट र पशु उपचार गर्ने क्रममा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् ।

लम्पी स्किन रोगबाट सङ्क्रमित गाईभैंसीको दूध घट्ने, छालामा साह्रा गाँठागुठी देखिने, नाक र मुखमा घाउ आउने, उच्च ज्वरो आउने तथा आँखा र नाकबाट तरल पदार्थ बगिरहने गर्दछ । समयमै उपचार नपाए पशुहरूको मृत्यु हुन्छ । लम्पी स्किन पशुबाट मान्छेमा सरेको पुष्टि अहिलेसम्म भएको छैन । सन् २०१७ मा प्रकाशित एफएओको प्रतिवेदनमा लम्पी स्किन रोग (जुनोटिक डिजिज) नभएको उल्लेख गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org