ताजा समाचार

देशका सातवटै प्रदेशमा वर्षा, आज दिनभर पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । केही भूभागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर पूर्ण बदली रहने जनाएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको सम्भावना रहेको विभागको भनाइ छ । दैनिक जनजीवन, जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले आवश्यक सतर्क रहन आग्रह गरेको छ ।

मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतिर रहेको छ । यसका साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org