ताजा समाचार

सुन प्रकरणमा एमाले उच्चस्तरीय छानबिन समितिबाट पछि हट्दैन : पदम गिरी

काठमाडौं । नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरण प्रकरणमा राजनीतिक दलको पनि संलग्नताको कुरा आएरहेकाले उच्चस्तरीय छानबिनको माग गरिएको बताए ।

सिंहदरबारमा प्रधानमन्त्रीले संसदको गतिरोध खुलाउनेबारे छलफल गर्न बोलाएको दलको बैठकपछि एमाले सांसद गिरीले पछिल्लो घटनाक्रम हेर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गर्ने तयारी भएको,सुन तस्करी प्रकरणमा ठूला व्यक्तिलाई सीआईबीले छानबिन गर्न नसकेको, भ्रष्टाचारका नाइकेहरुलाई संरक्षण गर्ने कोसिस भएकाले उच्चस्तरीय छानबिन आवश्यक रहेको जिकिर गरे।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै उच्चस्तरीय समिति गठन गर्दा सीआईबीले गरेको अनुसन्धान प्रभावित हुने भएकाले सीआईबीको अनुसन्धान सकिएपछि समिति गठन गर्न सकिने बताएका थिए। तर एमालेले अहिले नै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको प्रमुख सचेतक गिरीले बताए।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने एमाले अडान कायमै राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org