ताजा समाचार

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने, कुन प्रदेशमा कहिले ?

काठमाडौं । चारदलीय समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभाको आयोजना गर्ने भएको छ ।

सोमबार बिहान नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकबाट यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

“छलफल राम्रो भयो । तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो, के हो ? भन्ने थियो,” उनले भने, “हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणासभा गर्ने निर्णय गरेका छौँ । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।”

यस्तै, एकीकृत समाजवादीका नेता प्रमेश हमालले भदौ ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते वाग्मतीको हेटौँडामा र भदौ २५ गते कोसी प्रदेशको विराटनगरमा घोषणासभा गरिने बताए ।

बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाका बारेमा छलफल भएको उनले जानकारी दिए । सो घोषणासभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि उनले बताए ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपा आबद्ध छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org