ताजा समाचार

नेपालमा डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो, धरानमा मात्रै १२ हजारभन्दा बढी

काठमाडाैँ । नेपालमा डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ सुरु भएयता १६ हजार २६७ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, डेंगी संक्रमणबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ११ जना सुनसरीको धरान उपमहानगरपालिकाका छन् ।

यो वर्ष डेंगीको संक्रमणबाट सबैभन्दा धेरै धरान प्रभावित भएको पाइएको छ । आइतबारसम्म धरानमा १२ हजार ७८१ जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमणको ‘हट स्पट’ बनेको धरानमा केही दिनयता संक्रमण कम हुँदै गएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन् ।

‘केहीअगाडि निकै उग्र रूप लिएको संक्रमण अहिले केही घटेको छ । उपचार केन्द्रमा बिरामीको चाप पनि घट्दै गएको छ,’ उनले भने । केही हप्ताअघि तीव्र रूपमा फैलिएको संक्रमणका कारण धरानमा बेड अभाव हुँदा बिरामीलाई भुईंमा राखेरसमेत उपचार गरिएको थियो । तर, अहिले बिरामीलाई भुईंमै राखेर उपचार गर्नुपर्ने अवस्था भने नभएको मेहताको भनाइ छ ।

‘संक्रमण कम हुँदै गए पनि पूरै निर्मूल भने भइसकेको छैन । डेंगीलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै केही समय लाग्ने देखिन्छ । र, असोज महिनासम्म संक्रमण यस्तै अवस्थामा जाने देखिन्छ,’ उनले भने ।

तर, अहिले नै संक्रमण कति फैलिन सक्छ वा कहिलेसम्म रहन्छ भन्न सक्ने अवस्था नभएको कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । ‘पानी परिरहेको छ । यो अवस्थामा लामखुट्टेको ‘खोज तथा नष्ट’ गर्ने काम कति प्रभावकारी हुन्छ, त्यसमा भर पर्छ,’ दाहालले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org