ताजा समाचार

संसद्को अवरोध हट्यो, आज ३ बजे प्रतिनिधिसभा बैठक बस्ने

काठमाडाैँ । नेकपा एमालेले साउन १० गतेदेखि गर्दै आएको स‌ंसद् अवरोध हटेको छ।

सोमबार साँझ साढे ८ बजेदेखि झण्डै ११ बजेसम्म बसेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासहितको बैठकमा सहमति जुटेसँगै संसद् अवरोध हट्ने भएको हो।

संसद् बैठक आज (मंगलबार) बाट सञ्चालन हुने भएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै नेकपा एमाले अवरुद्ध गर्दै आएको संसद् बैठक सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सहमति जुटेसँगै सुरु हुने भएको हो।

उच्चस्तरीय छानबिन समिति बनाउने र सो को ड्राफ्ट बिहान ११ बजेसम्म तयार गर्नेगरी सिंहदरबारबाट ७ दलका नेताहरू उठेका छन्।

सोमबार साँझ ढिलोगरी सुरु भएको बैठकमा सहमति भएसँगै मंगलबार दिउँसो ३ बजेका लागि प्रतिनिधि सभा बैठक आव्हान भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अुनसार छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको हो।

नेकपा एमालेले साउन १० देखि लगातार गरेको अवरोधका कारण संसद् चल्न सकेको थिएन।

‘उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफ्नो मत आज पनि राख्यौं। सरकारले पनि समिति बनाउन तयार रहेको कुरा आएको छ। दलहरुका नेताहरुमा पनि सहमति भएको छ,’ बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले भने।

साथै, उक्त विषयमा कार्यविधि कसरी बनाउने भनेर तीन सदस्यीय समिति बनाइएको छ।

समितिको टिओआर बनाउन नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई अनौपचारिक जिम्मेवारी दिइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org