ताजा समाचार

ललिता निवास प्रकरण: अदालतमा मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं । सरकारी लिखत तथा दस्तखत संगठित रुपमा किर्ते गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबारदेखि नै अभियोगपत्र लेख्न थालेको थियो। शनिबार पनि अभियोगपत्र लेख्ने काम भएको र आइतबार अन्तिम रुप दिएर अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ।

अन्य कुनै प्राविधिक समय नभएमा आइतबार कार्यालय समयको सुरुवाती अवधिमै जिल्ला अदालतमा मुद्दा दर्ता गरिसक्ने सरकारी वकिल कार्यालयका कर्मचारीको भनाइ छ।

सरकारी वकिलले २ दिन अभियोगपत्रका बारेमा छलफल गरेका थिए। सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा संकेत गरिएकामध्ये केही अभियुक्तविरुद्धको दाबीका सन्दर्भमा थपघट गर्नुपर्ने लगायतका विषयहरु छलफल गरेर टुंग्याइएको छ।

सीआईबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। सीआईबीले दिएको रायअनुसार नै अभियोग दर्ता गर्ने तयारी भइरहे पनि अभियुक्तको संख्या भने सिफारिस गरेकोभन्दा केही थपघट हुने सक्ने सरकारी वकिल कार्यालय स्रोतको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org