ताजा समाचार

राधा स्वामी सत्संग व्यासका बाबाजी काठमाडौं आउँदै, असोज ९ र १० गते सामाखुशीमा प्रवचन कार्यक्रम

 

काठमाडौं । राधा स्वामी सत्संग ब्यास नेपालका सत्गुरु बाबाजी सत्संगका लागि भारतबाट काठमाडौं आउने भएका छन् । यही असोज ९ र १० गते टोखा–१० रिङरोड, सामाखुशीस्थित आफ्नै सत्संग परिसरमा आयोजना हुने सत्संग कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । नेपाल भरिका भक्तजन संगत तथा इच्छुक नागरिकले उक्त सत्संग सुन्न सक्ने आयोजकले जनाएको छ ।

टाढाबाट आएर दुई–तीन दिन बसोबास गर्नुपर्ने भक्तजन संगतहरुका लागि संस्थाको सुन्दरिघाट कीर्तिपुरस्थित आफ्नै परिसर र कीर्तिपुरस्थित ल्याबोरेटरि उच्च माध्यमिक विद्यालयको परिसरमा खानपान तथा बसोबासको व्यवस्था गरिएको छ । सत्संग हुने दिन कीर्तिपुरबाट सामाखुशी आउने–जाने यातायातको समेत निःशुल्क व्यवस्था गरिएको छ । उक्त कार्यक्रममा लगभग २५ हजार भक्तजन संगतको उपस्थिति हुने अनुमान छ । संस्थाले आफ्ना सवै कार्यहरु स्वयंसेवक सेवादारबाट संचालन गर्ने गरेको छ ।

सत्संग कार्यक्रममा नेपाल भरिका इच्छुक, जिज्ञासु, भक्तजन जो कोहीलाई सत्गुरु बाबाजीको सत्संग सुन्ने इच्च्छा भएमा विहान ९ बजेभित्रै सामाखुशीस्थित सत्संग परिसरमा प्रवेश गरिसक्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बास बस्ने गरि आउनेलाई आफूलाई पायक पर्ने राधास्वामी सत्संग ब्यास नेपालका कुनै पनि सत्संग स्थलहरुमा सम्पर्क राख्न भनिएको छ ।

बास बस्ने गरि आउने नाबालक, अशक्त, ज्येष्ठ नागरिक र महिलाको हकमा संरक्षक वा रेखदेख गर्नेको साथमा आफ्नो घरमा सुचना दिएर मात्र आउनुपर्ने छ । बसोबास गर्ने स्थानमा महिला र पुरुष अलग÷अलग रहने व्यवस्था हुने भएकोले सो व्यवस्था मिल्ने गरि संरक्षक वा रेखदेख गर्ने व्यक्ति हुनु पर्नेछ । सरुवा रोग नलागेका दीर्घ रोगको औषधि खाइरहेकाले आफ्नो औषधी साथमा लिएर मात्र आउनुपर्ने छ । सरुवा रोग लागेका विरामी, गम्भीर असक्त तथा जोखिमपूर्ण शारीरिक समस्या भएकाहरुका लागि भने विशेष व्यवस्था हुन नसक्ने भएकोले स्वव्यवसथा गर्न तथा उपचारमा रहन अनुरोध गरिएको छ ।

सत्संगमा सहभागी हुन आउनेले बहुमुल्य गरगहना, चिजबस्तु तथा धनमाल ल्याउन पाउने छैनन् । मोबाईल फोन साथमा ल्याउन चाहनेले सत्संग परिसर बाहिर स्वयंसेवकबाट संचालन हुने काउण्टरमा जम्मा गरि टोकन लिएर भित्र प्रवेश गर्नुपर्ने छ । कार्यक्रममा सहभागी भएर फर्किएपछि टोकन दिएर मोवाइल फिर्ता गर्ने व्यवस्था पनि गरिएको छ । सत्संगको अवधी सामान्यतः ४५ मिनेटको हुने छ ।

सत्संग सकिएपछि निःशुल्करुपमा शाकाहारी भोजनको व्यवस्था गरिएको छ । राधास्वामी सत्संग ब्यास नेपाल गैरराजनीतिक, गैरव्यवसायिक, कुनै सम्प्रदायमा संलग्न नभएको र नाफा नकमाउने उद्देश्यले भएको आध्यात्मिक संस्था हो । यस अन्तर्गत नेपालभरका १०८ वटा सत्संग स्थलहरुबाट प्रत्येक शनिबार सत्संग प्रवचन हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org