ताजा समाचार

सर्वोच्चका न्यायाधीश फुयालले भने- नेपालका कारागारहरु नर्कका पनि नर्क हुन्

काठमाडौं, असोज ९ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका कारागारहरुको अवस्था अत्यन्तै दयनीय रहेको बताएका छन् ।मंगलबार सुरक्षा र न्याय अध्ययन केन्द्र र नीति फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘लोकतान्त्रिक व्यवस्थामा प्रहरी सेवा: संस्थागत रुपान्तरणका आधारहरु’ विषयक अन्तर्क्रियामा सहभागी उनले भने, ‘मैले विभिन्न ठाउँमा अनुगमन गर्दा पाएको कुरा के हो भने नेपालका कारागारहरु नर्कका पनि नर्क हुन् ।’

तेह्रथुममा अनुगमनका लागि गएको बेला आफूले त्यहाँ कैदीबन्दीहरु पालो गरेर सुत्ने, पालो गरेर उठ्ने गरेको पाएको बताए । उनले थपे, ‘मानौं त्यहाँ मान्छे बसेकै छैनन् ।’ अर्को प्रसंगमा उनले प्रहरीले अनुसन्धान गरेर कुनै कुराको निष्कर्षमा पुग्नभन्दा बढी पक्राउ गर्न उद्दत देखिएको समेत बताए ।

‘त्यसमा पनि संयुक्त राष्ट्र संघको एउटा रिपोर्टले अहिले नेपालमा पक्राउ परेका १०० जनामध्ये १७ जना हिरासतमा कुनै न कुनै प्रकारको दुर्व्यवहारमा पर्छन् भनेको छ’, फुयालले भने, ‘नेपालमा अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गराउने लगायतका कार्यमा एउटै प्रहरी खटिने हुँदा पनि समस्या देखिएका छ ।’

एउटा मान्छेलाई त्यहीँ लामो समयसम्म राखेर दक्ष बनाउनुपर्नेमा त्यो हुन नसकेको उनले बताए । अपराध अनुसन्धानका लागि छुट्टै जनशक्ति विकास गर्नुपर्ने उनको राय थियो । उनले लोकतन्त्रको वास्तविक धरातल प्रहरीले प्रदर्शनमा गर्ने बल प्रयोगमा देखिने समेत बताए । ‘कसैले विरोध प्रदर्शन गर्छ भने निश्चित क्षेत्र तोकेर प्रहरीले त्यसमा सहजिकरण गर्नुपर्छ’, उनले भने ।

प्रहरीमा लगानी गर्नुलाई सरोकारवालाले पनि उत्पादक क्षेत्रमा गरेको लगानी सम्झनुपर्ने उनले बताए । ‘प्रहरीमा लगानी भएन भने कानुनको शासन, विधिको शासन कायम हुँदैन, त्यो भएन भने वैदेशिक लगानी आउँदैन, यहीँका व्यवसायीहरु पनि लगानी गर्न डराउने अवस्था बन्छ’, उनले भने । अर्को प्रसंगमा उनले प्रहरीलाई कार्यगत स्वयात्तत्ता दिएर निष्पक्षतापूर्वक काम गर्न दिनुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org