ताजा समाचार

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा

काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले हिसांमा ज्यान गुमाएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरीएको सञ्चार माध्यमलाई बताएकी छन् ।

साथै मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय समेत सरकारले गरेको छ ।

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशिघ्र ल्याउने तयारी छ ।

मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।

इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे विमान चार्टर गरी यथाशिघ्र नेपाल ल्याउने निर्णय भएको मन्त्री शर्माले जानकारी दिएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org