ताजा समाचार

सिंगापुरविरूद्ध ओपनर कुशल भुर्तेलको अर्धशतक

काठमाडाैँ । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले २६ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ६ चौका र २ छक्का प्रहार गरे।

उनलाई अहिले अर्का ओपनर आसिफ शेखले साथ दिइरहेका छन्। भुर्तेलले अर्धशतक पूरा गर्दा नेपालले ७ ओभरमा बिनाविकेटको क्षतिमा ७२ रन जोडेको स्थिति थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

सिंगापुरले पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्यमा गुमाए पनि दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो।

सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका थिए।

गुल्सन झाले आठौं ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भएको थियो।  गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। सिंगापुरका लागि सबैभन्दा बढी रन बनाएका रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरेका थिए।

त्यसपछि सन्दीपले जनकप्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे। अभिनास बोहराले १८औं ओभरमा दुई विकेट लिने क्रममा थिलिपनलाई १ रन र अनन्थ कृष्णालाई शून्यमा क्याच आउट गराए।

त्यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले इनिङ्ग्सको दोस्रो बलमै बोल्ड गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अन्तिम ओभरमा अभिनास बोहराले अर्भवीर चौधरीलाई ३७ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। गुल्सन झा, करण केसी र सन्दीप लामिछानले २-२ विकेट लिन सफल भए।

छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org