ताजा समाचार

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।

सिस्ने–३ का ओमप्रकाश खड्काले २५० धार्नी मह बिक्री गरेर यो याममा सात लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् । अब १४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनले बताए । “यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने १२ लाख कमाउँछु”, किसान खड्काले भने ।

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६० घारबाट १८० धार्नी मह निकालेका छन् । मह निकाल्न अझै दश  मौरीका गोला बाँकी छन् भने १०८ धार्नी मह बिक्री भइसकेको छ । उनले बिक्री भएको महबाट तीन लाख २४ हजार आम्दानी गरेका छन् । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उनले भने, “यो याममा सात लाख बराबरको आम्दानी हुने भएको छ ।”

एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौंलगायत सहरमा पुग्ने गरेको छ ।

सिस्ने –३ मा यो याममा ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए ।

गत वर्ष जिल्ला मा १२ सय मौरीका गोलाबाट ६०० मेट्रिक टन मात्र मह उत्पादन भएको थियो । यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । अझै पनि किसानको मह निकाल्ने काम जारी छ ।

उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने एक करोड १५ लाख २० हजार आम्दानी हुने सो कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org