ताजा समाचार

सहकारी प्रकरणबारे ‘स्पष्ट पार्न’ पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू समेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा ‘सत्यतथ्य’ सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले सोमबार साँझ पत्रकार सम्मेलन गर्ने बताएका हुन्। पत्रकार सम्मेलनबाट सबै कुरा स्पष्ट पार्ने लामिछानेको भनाइ छ।

लामिछाने राजनीतिमा आउनुपूर्व ‘ग्यालेक्सी फोरके’ नाम टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएको छ।

उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान गरिरहेको छ। लामिछाने समेत नेतृत्व तहमा रहेर सञ्चालनमा आएको ग्यालेक्सी फोरके टेलिभिजनका लागि पोखरा, चितवन र बुटवलका विभिन्न सहकारीका बचतकर्ताको रकम गैरकानुनी रुपमा स्थानान्तरण गरेको पाइएको विषय सञ्चारमाध्यममा आएको छ।

आफूविरुद्ध सञ्चारमाध्यमहरुमा चरणबद्ध रुपमा समाचार प्रकाशित भएको विषयलाई संकेत गर्दै लामिछानेले सञ्जालमा लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’मा कोही ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org