ताजा समाचार

एमाले सचेतक बर्तौला भन्छन्– न्याम्सअन्तर्गत वीर अस्पताल हुनु हुँदैन

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत वीर अस्पताल हुन नहुने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो ? भन्दै प्रश्न गरे । अहिलेको विधेयक स्पष्ट ढंगले ल्याएको देखिएको उनले बताए । सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ विधेयक ल्याएको देखिने उनको भनाइ छ ।

उनले प्रतिष्ठानअन्तर्गत रहे सरकारले भनेका कुरा अस्पतालले नमान्ने स्थिति आउने विगतको अनुभव रहेको उल्लेख गरे । न्याम्स प्रतिष्ठान मात्र भएकाले आफ्नो विश्वविद्यालय बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने उनले बताए ।

“विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको छ,” उनले भने ।

उनले थपे, “न्याम्स एउटा प्रतिष्ठान हो, उसले आफ्नो युनिभर्सिटी, आफ्नो कलेज बनाउनुपर्छ । बनाउन सक्दैन भने त्यति बेलासम्म उसले वीर अस्पतालसँग एमओयू गरेर चलाउन सक्छ । कोभिडको समयमा वीर अस्पतालले नेपाल सरकारलाई सहयोग गरेन ।”

बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाइ सुरु गर्न सकिरहेको छैन ? भन्दै प्रश्न गरे । उनले प्रतिष्ठानले आफैँ स्वायत्त ढंगले काम गर्न नसक्दा प्रगति हुन नसकेको हो ? भन्ने प्रश्न पनि गरे ।

सांसद परियारले वीर अस्पताल केन्द्रीय अस्पताल नै रहनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org