ताजा समाचार

जापान दिगो र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री जापान भएको बताएका छन्।

जापान नेपालको एक हितैषी मित्र पनि रहेको उनको भनाइ छ।

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सधैं उच्च मूल्याङ्कन गर्ने बताए।

‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमा समेत प्रगति भइरहेको छ। यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्वपूर्ण रहने छन्’, उनले भने।

नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन र जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियसनले गरेको योगदान सराहनीय रहेको उनले बताए।

राष्ट्रपति पौडेलले जानले ग्रामीण क्षेत्रमा जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका कामहरू गरिरहेको र यस्तो कार्यलाई थप ग्रामीण क्षेत्रमा विस्तार गर्न सुझाव दिए। नेपाल र जापान बीचको मित्रतालाई अझै घनिभूत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने उनको विश्वास छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org