ताजा समाचार

तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर

काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ । तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ ।

मौसम तथा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेती अझै केही दिन तराई मधेशमा गर्मी बढ्ने र कतिपय ठाउँमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको बताउनुहुन्छ । तराई मधेशमा तातो रातको अबस्था पनि बढ्ने देखिएको उहाँले बताउनुभयो । तापक्रम बढेपछि शरीरमा पसिना आउने, पानीको कमी हुने, रगत जम्ने, घाँटीमा समस्या आउने, आँखा र छालामा समस्या आउने तथा कतिपयलाई हिट स्ट्रोक भएर मुर्छा पर्ने, अपाङ्गता हुने तथा ज्यान जाने खतरा हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको विपद जोखिम न्यूनिकरण कार्यालयले तातो हावाको लहर अर्थात् लू लाई जलवायुजन्य विपद मानेको छ । तर नेपालमा केन्द्रीय स्तरमा तथा पालिकामा आवश्यक पूर्व तयारी पाइँदैन । मौसम पूर्वानुमान महाशाखाले भने तापक्रम वृद्धिको पूर्वानुमानको आधारमा सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तर धेरै विज्ञले लू को अवस्था आएको बताइरहँदा पनि जल तथा मौसम विज्ञान विभागले लू’  चलेको घोषणा गरेको पाइँदैन ।

विभागकी सूचना अधिकारी एवम् वरिष्ठ मौसमविद् विभूती पोखरेल तोकिएको मापदण्ड पूरा भएमा ‘लूघोषणा हुने बताउनुहुन्छ । तर कति तापक्रम पुग्नुलाई ‘लू’भन्ने मापदण्डका बारेमा विज्ञबीच एक मत पाइँदैन । जलवायु विपद् विज्ञ डाक्टर धर्मराज उप्रेती गर्मी धेरै भएको बेलामा तिर्खा नलागे पनि शुद्ध पानी प्रशस्त पिउन, उपलब्ध भएसम्म दही, मोही, सर्वत, कागती पानी पिउन, ताजा फलफुल खान, दिउँसो घाममा ननिस्कन र घर बाहिर निस्किँदा टाउको छोप्नुको साथै पातलो सुतिको कपडा प्रयोग गर्न सुझाव दिनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org