ताजा समाचार

मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः सुरु गर्ने पुटिनको चेतावनी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ ।

“यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ”, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उहाँले भन्नुभयो । उहाँले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताउनुभयो ।

राष्ट्रपति पुटिनले चेतावनी दिँदै भन्नुभयो, “हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका उपग्रहहरूको गतिविधिहहरूलाई ध्यानमा राख्दै तिनीहरूको असर कम गर्न कदम चाल्नेछौँ ।” पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत सङ्घले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो ।

तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लङ्घनको आरोप लगाए ।
पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशहरूमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो ।
जुलाईको प्रारम्भमा वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि सुरु हुने घोषणा गरे ।

पुटिनले भन्नुभयो, “महत्त्वपूर्ण रुसी प्रशासनिक र सैन्य स्थल यस्ता क्षेप्यास्त्रहरूको सीमामा आउनेछन् जुन भविष्यमा आणविक हतियारले सुसज्जित हुनसक्छ , जस्तो कि आक्रमण सुरु भएको करिब १० मिनेटभित्र यी क्षेप्यास्त्र हाम्रो क्षेत्रमा हुनेछन् ।”रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताउनुभयो ।

शीतयुद्धको सम्झना 

“यो अवस्थाले हामीलाई युरोपमा अमेरिकी पर्सिङ मध्यम दूरीको क्षेप्यास्त्रहरूको तैनाथीसँग जोडिएको शीतयुद्धका घटनाहरूको सम्झना गराउँछ”, पुटिनले भन्नुभयो । सन् १९८० को दशकमा शीतयुद्धको चरम अवस्थामा पश्चिम जर्मनीमा अमेरिकी पर्सिङ ब्यालेस्टिक क्षेप्यास्त्रहरू तैनाथ गरिएको थियो । जर्मनी एकीकरण र सन् १९९० को दशकसम्म अमेरिकी क्षेप्यास्त्रहरू तैनाथ भइरहे ।

तर शीतयुद्धको समाप्तपछि मस्कोबाट खतरा कम भएकाले संयुक्त राज्य अमेरिकाले युरोपमा तैनाथ क्षेप्यास्त्रहरूको सङ्ख्या उल्लेखनीय रूपमा कम गर्यो । प्रस्तावित अमेरिकी तैनाथीको अर्थ युरोपेली राजधानीहरू रुसी क्षेप्यास्त्रहरूका लागि लक्ष्य बन्ने क्रेमलिनले मध्य जुलाईमा चेतावनी दिएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले एक सरकारी टिभी संवाददातासँग भन्नुभयो, “हामी शीतयुद्धतर्फ स्थिर कदम चालिरहेका छौँ, शीतयुद्धका सबै विशेषताहरू प्रत्यक्ष टकरावका साथ फर्किरहेका छन् ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org