ताजा समाचार

युक्रेनले रुसी आक्रमणको जवाफ दिने जेलेन्स्कीको चेतावनी

मस्को । रुसको पछिल्लो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने बताउनुभएको छ । रुसको आक्रमणमा चार जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सही ढङ्गले त्यसको जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनमा गएरातिदेखि रुसले गरेको आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले हिजोदेखि युक्रेनका नागरिक र पूर्वाधारलाई लक्षित गरी ९० पटक हवाई आक्रमण गरेको बताउनुभएको छ । यसमा कम्तीमा ८१ ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल रहेका खबरमा उल्लेख छ ।

जेलेन्स्कीले रुसको वर्तमान र विगतका आक्रमणहरूको जवाफ पक्कै दिने तथा मानवताविरुद्धको अपराधलाई नछोडिने सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । युक्रेनको वायुसेनाले रुसको पाँच वटा मिसाइल र ६० वटा ड्रोन खसालेको दाबी गरेको छ ।

युद्ध शुरू भएपछिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको एक दिनपछि रुसले युक्रेनमा अर्को चरणको आक्रमण शुरू गरेको हो । हिजो युक्रेनको आधाभन्दा बढी क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण हुँदा सात जनाको ज्यान गएको थियो भने कैयौं व्यक्ति घाइते भएका थिए ।

युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न ठाउँमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको हो । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org