ताजा समाचार

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

काठमाडौं । यहाँका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेको हो ।

टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ । मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएको छ । यहाँमा सेराना जातको मौरी यहाँका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।

व्यावसायिक रूपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले अध्ययन गर्नेछ । सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन टोली पुगेर अनुसन्धान गरिसकेको छ । आज गुठीचौर गाउँपालिकाको गुठीगाउँ र बुधबार तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गरिने कृषि विकास कार्यालयका प्रमुख देवकोटाले जानकारी दिए। अध्ययन टोली जुम्ला पुगेकाले मौरीमा देखिएको रोग पत्ता लाग्ने आशा किसानले गरेका छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग कीराका बारेमा टोलीले अध्ययन गर्ने कृषि विकास कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org