ताजा समाचार

नुवाकोटको साततले दरबारसहितका धार्मिक एवम् पुरातात्त्विक सम्पदाको पुनर्निर्माण शुरू

काठमाडौं । वि.सं २०७२ साल बैसाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवम् पुरातात्त्विक सम्पदाको पुनर्निर्माण थालिएको छ । उक्त सम्पदानको पुनर्निर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो ।

वि.सं. २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो । तर सम्झौताको चार वर्षपछि चिनियाँ पक्षले अब नियमित काम अघि बढाउन लागेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिएका छन् ।

चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्‍याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित त्यहाँको धार्मिक तथा पुरातात्त्विक महत्त्वका विभिन्न आठ वटा संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको थियो ।

सोहि सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनर्निर्माण तथा प्रबलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपछि लिच्छविकालीन तलेजु (तुलजा भवानी) को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण गर्ने योजना रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org