ताजा समाचार

संखुवासभा पुगेर फर्किएपछि राउत प्रधानन्यायाधीशमा सिफारिस

जिन्दगीमा यति सम्मान संखुवासभमा प्राप्त गरेँ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । यही भदौ ३० गते आइतबार जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएको भोलिपल्टै वरिष्ठम् न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश पदमा सिफारिस भएका छन् । आइतबार संखुवासभामा आयोजित कार्यक्रममा सहभागी हुँदै धार्मिक स्थल समेत घुमेर काठमाडौं फर्किएको भोलिपल्टै वरिष्ठतम् न्यायाधीश राउत सिफारिस भएका हुन् ।

जिल्ला अदालत संखुवासभाको भवन उद्घाटन गर्न प्रधानन्यायाधीश श्रेष्ठ, प्रधानन्यायाधीशमा सिफारिस राउत, न्याय परिषद् सदस्य रामकुमार श्रेष्ठ, न्यायाधीश प्रकाश ढुंगाना र मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल गएका थिए । संखुवासभा भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठसहितको टोलीलाई स्थानीयबासी, समाजसेवी, बुद्धीजीवी, कानुन व्यवसायीलगायतले झाँकी र पन्चेबाजाका साथ केही समय बजार घुमाएका थिए । प्रधानन्यायाधीश श्रेष्ठसहितको टोली पूर्वको प्रशिद्ध मन्दिर संखुवासभाको सिद्धपोखरी पनि दर्शन गर्न पुगेका थिए । जिल्ला अदालत भवनको उद्घाटनका क्रममा प्रधानन्यायधीश श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तो किसिमको सम्मान आफ्नो जिन्दगीमा पहिलो चोटी पाएको प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौं फर्किएपछि सहकर्मी, आफन्त तथा शुभचिन्तकहरुलाई बताएका छन् । प्रधानन्यायाधीश श्रेष्ठलाई भब्य सम्मान गर्नु भएछ नि ? भन्ने जिज्ञासामा स्रेष्तेदार भरतमणी पोखरेलले भने, ‘प्रधानन्यायाधीश श्रेष्ठले त्यस्तो भन्नु भएछ, हामीलाई पनि खुसी लाग्यो । यो चाहिँ सिंगो जिल्ला अदालत संखुवासभा परिवार, बार परिवार,स्थानीयबासी,चैनपुर नगरपालिकालगायत सबैको प्रयासमा सफल भएको हो । ’

प्रधानन्याधीशमा राउतको सिफारिस र कार्य अनुभव

प्रधानन्यायाधीश श्रेष्ठसहितको टोली संखुवासभाबाट फर्किएको भोलिपल्ट सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको छ  । यसअघि प्रधानन्यायाधीश सिफारिस गर्नकै लागि गत भदौ २८ गते शुक्रबार बसेको परिषद बैठक निर्णयमा पुग्न सकेको थिएन । सोमबारको बैठक अघिल्लै बैठकको निरन्तरता थियो  । बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।

न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि ८ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन्  । संविधानको धारा २८४ (३) ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्  । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश पदमा सिफारिस भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए  । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org