ताजा समाचार

रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद थप गरेको छ । । एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराएको थियो ।

लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत हुन्। गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। प्रहरीले रविसँग थप बयान लिने तयारीका साथ लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।

आवश्यक कागजात तयार पार्न, ततिम्बा बयानसमेत लिनु पर्ने भन्दै प्रहरीले थप हिरासतमा राख्ने अनुमति माग्ने तयारी गरेको थियो । लामिछानेले गत चैतमा मलेसिया गएर जीबीलाई भेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको कारोबार पनि अस्वभाविक देखिएको प्रहरी श्रोतको भनाइ छ।

उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ। सभापति लामिछानेलाई म्याद थपका निम्ति अदालत पेस गर्ने तयारी गर्दै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गरिरहेको छ । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा केन्द्रित भइरहेका छन्।

प्रहरीले अहिले रविको बैंक खाता र त्यसमार्फत भएका सबै कारोबार संकलन गरिरहेको छ। लामिछानेले नेपालबाट विदेश रकम पठाएको प्रहरीले आशंका गरेको छ। प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । यसैबीच रुपन्देहीमा पनि उनीविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लगिने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org