ताजा समाचार

एघार जिल्लामा चार लाखलाई पहिलो किस्ता

काठमाडौँ, १४ असोज । उपत्यकाका तीनै जिल्लामा भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान वितरण गर्न केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका २२ नगरपालिका र १९ गाविसमा सर्वेक्षणको स्थलगत काम सम्पन्न गरेको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो,“ललितपुरका १९ गाविसमा घर घरमै पुगेर सर्वेक्षण भयो, ललितपुरका पाँच, भक्तपुरका छ र काठमाडौँका ११ नगरपालिकामा यसअघि नगरपालिकाले राहत वितरण गरेकाको सूचीमा परेकाका घरमा गई सर्वेक्षण गरियो, सर्वेक्षण सकिएकाले शुक्रबारदेखि तीनै जिल्लाका कार्यालय बन्द गरिनेछ । ”

सर्वेक्षणको प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बुझाएपछि प्राविधिक अध्ययन गरी प्राधिकरणले लाभग्राहीको सूची सार्वजनिक गर्ने छ ।

विभागले यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवाको सर्वेक्षण सकी सम्झौताका साथ पहिलो किस्ताको अनुदान वितरण भइरहेको छ ।

एघार जिल्लामा बिहीबारसम्म तीन लाख ९६ हजार ८११ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार(प्रतिव्यक्ति) वितरण गरिएको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित सूचीमा राखेको छ । भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लाको सर्वेक्षणका लागि दसैँपछि तयारी गरी तिहारपछि काम सुरु गरिने निर्देशक लामिछानेले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org