ताजा समाचार

माओवादी एक नभए पतनको खतरा !

तीस वर्ष लामो राजनीतिक सहयात्राको इतिहास बोकेका डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध विच्छेदको विषयले १६ महिना अघि निकै चर्चा पाएको थियो । लामो समय एउटै पार्टीमा रहेर जनयुद्ध लड्दै त्यसबाट प्राप्त उपलब्धि संस्थागत हुन नपाउदै उनीहरु छुट्टिए । फेरि पछिल्लो पटक एक कार्यक्रममा प्रचण्ड–बाबुरामले आफूहरु परिवर्तन संस्थागत गर्नकै लागि मिल्नुपर्ने आवश्यकता देखाएर मिल्ने संकेत गरे । तर, पछि बाबुराम आफैले आफ्नो फेसबुक पेज मार्फत त्यसको खण्डन गरेका छन् ।

यी दुई नेता द्वन्द्वकालमा पार्टीको विभिन्न कार्यक्रममा प्रायः एउटै ड्रेसमा उपस्थित हुन्थे । पार्टीभित्र अरुको तुलनामा यिनका गतिविधी माथि अलि बढि नै चर्चा हुन्थ्यो । शान्तिप्रकृया पश्चात् सार्वजानिक हुने क्रममा एउटै ड्रेस लगाएर सार्वजानिक भएका थिए । तत्कालीन समयमा त्यसले निकै चर्चा पायो । हुनत बाबुराम भन्दा अघि मातृका यादव र मोहन वैद्य समूहका नेताहरुले पार्टी विभाजन गरेर अलग भैसकेका थिए । तर, तिनको तुलनामा बाबुरामको पार्टी परित्यागको विषय धेरै चर्चा भयो ।

भट्टराईले पार्टीमा रहँदा, नेतृत्वले आफ्नालाई मात्र स्थान दिएको, नेतृत्व पूँजीवादमा फसेको, पदकोलागि नेतृत्वको चाकडी गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै बेला बेलामा राजीनामा गर्ने गर्थे । अर्कोतर्फ कुनै बेला पार्टीको विभिन्न कार्यक्रमहरुमा आफ्नो नेता नै प्रचण्ड भएको र आपूm प्रचण्डमै बिलिन भैसकेको अभिव्यक्ति दिने भट्टराईले एक्कासी माओवादी पार्टी परित्याग गर्दा सबै आश्चर्यमा परे । हुन पनि हो, नेपाली राजनीतिमा लामो समयको सौर्र्हार्दपूर्ण सहयात्रा अन्य पार्टीका नेताहरुले गरेको इतिहास कमै छन् ।

अहिले माओवादी फुटले खासगरी परिवर्तन विरोधहरुको मनोबल बढेको छ । माओवादी भनेको नै प्रचण्ड हो र प्रचण्ड भनेको नै माओवादी हो भन्नेहरुलाई माओवादी बिरुद्ध नकारात्मक भ्रम फैलाउन र उनीहरुको बलमा भएका परिवर्तन संस्थागत हुन नदिन स्वयम् उनीहरुको विभाजनले मलजल पुगेको प्रष्ट देख्न सकिन्छ । अहिले इतिहासकै कमजोर अवस्थामा माओबादी नेतृत्व आईपुगेको तथ्य आम सर्वसाधारण, शुभ चिन्तक र कार्यकर्ताबाट लुकेको छैन ।

पछिल्लो समय विभिन्न पार्टीका नेताहरुले, कहिले संघीयता माओवादीलाई शान्तिप्रकृयामा ल्याउन मानिदिएको त कहिले संबिधानसभा माओवादीको एजेण्डा हो भन्दै, जनयुद्धबाट प्राप्त उपलब्धि उल्ट्याउन सक्ने संकेत समेत गरेका छन् । यस्ता अभिव्यक्तिबाट सहजै अनुमान लगाउन सकिन्छ । अझैपनि परिवर्तन विरोधहरु राजनीतिको केन्द्रमा छन् । राजनीतिक अवस्था आपूm अनुकुल हुनासाथ परिवर्तन उल्ट्याउन पछि पर्दैनन् उनीहरु ।

परिवर्तन विरोधीहरु एकजुट हुनु ,राजावादीहरुको सक्रियता र एकता बढ्नु,पूर्व राजाले देश र जनताको चिन्ता भन्दै विज्ञप्ति निकाल्नु ,गणतन्त्र खतरामा पर्ने संकेत हो । अहिले माओवादी स्थापित युद्ध मार्फत् भएका परिवर्तनहरु उल्ट्याउने गम्भीर सड्यन्त्र भैरहेको छ । विभिन्न नेताहरुबाट घुमाउरो पाराले धर्मनिरपेक्षता र संघीयताको विरोध गदै छन् । संघीयताकै कारण देश विभाजन हुन्छ भन्ने भ्रम छर्न केही नेताहरु लागि परेका छन् । अर्कोतर्फ पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश बनाऔ भनेर पछाडी फर्कने प्रयास हुदैछ । यी परिवर्तन स्वीकार गर्न नसक्नेहरुले रचेको दाउ हो । परिवर्तन उल्ट्याउने षडयन्त्र हो ।

माओवादी विभाजित हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्य विप्लवको पनि कमजोरी थियो ।

युद्ध गरेर ल्याईएको उपलब्धि संस्थागत नहुँदै अलग भएर प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउदैनन् । जनयुद्धमा बगेको शहिदको रगतको उच्च सम्मान गर्दै तत्कालिन समयमा आम नेपालीलाई देखाएको सपनाहरु पूरा गर्न सबै माओबादी नेताहरु मिल्नुको विकल्प छैन ।

अहिले माओवादीको इतिहासकै कमजोर अवस्थामा प्रचण्ड देशको प्रधानमन्त्री बनेका छन् । यो उनको लागि अन्तिम अवसर पनि हुनसक्छ । यदि यस कालमा उनले जनताको हितको लागि काम गर्न सकेनन् भने स्वयम् उनको राजनीतिक यात्राको मात्र होइन माओवादी इतिहासकै अवशान हुन् सक्छ । त्यसकारण दशवर्षे जनयुद्धको उपलब्धी, त्यसैको जगमा भएको मधेश आन्दोलन र त्यस पश्चात् भएका परिवर्तनहरु संस्थागत गर्न अब बाबुराम प्रचण्ड मात्र हैन, मोहन वैद्य र नेत्रविक्रम चन्द समेत एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org