ताजा समाचार

लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको छ : मन्त्री शर्मा

चितवन, २२ पुस । उर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको छ भन्नुभयो ।

मन्त्री शर्माले काठमाडौँ, पोखरा, विराटनगरलगायतका ठाउँमा लोडसेडिङ् नभएको भन्दै अन्य क्षेत्रमा पनि दुई घन्टाको हाराहारीमा मात्र लोडसेडिङ् रहेको बताउनुभयो ।

लोडसेडिङ् क्रमशः घटाउँदै लैजाने बताउँदै उहाँले जनशक्ति र प्रविधिको सही उपयोग गर्न सकेकै कारण लोडसेडिङ् घटाउन सकेको भन्नुभयो ।

मन्त्री शर्माले लोडसेडिङ् कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको बताउँदै आन्तरिक रुपमा काम भइरहेकाले के–कति कारबाहीमा पर्छन् अहिले नै भन्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

झोलामा लाइसेन्स राख्ने परम्पराको अन्त्य गरी लाइसेन्स बिक्री गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिदैं उहाँले “जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछ भन्नुभयो ।”

मन्त्री शर्माले संविधान संशोधन प्रक्रियामा जान पुस २४ गतेसम्ममा दलहरुकाबीच सहमति जुट्ने बताउँदै “विषय वस्तु वा प्रक्रियामा सहमति गर्ने गृहकार्य भइरहेको छ, मलाई लाग्छ प्रक्रियामा सहमति हुन्छ भन्नुभयो ।”
“सरकार संविधान संशोधन गराउने कुरामा प्रयासरत रहेको छ” उहाँले भन्नुभयो – “सरकारले सबै दललाई सहमतिमा ल्याएर देशलाई निर्वाचनतर्फ लैजाने तयारीमा रहेको छ ।” 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org