ताजा समाचार

संशोधन परिमार्जनसहित पारित गर्नेबारे सकारात्मक छलफल

काठमाडौं, २९ पुस ।  व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीचको बैठकले संशोधनमा के–कस्ता विषयमा परिमार्जन गर्ने भन्नेबारे पुनः समझदारी गरी अघि बढ्ने निर्णय गरेको हो।

संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्नेबारे मोर्चाबीच सकारात्मक छलफल भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई जानकारी दिए।

“संविधान संशोधनबारे गहन कुराकानी भई संशोधनलाई परिमार्जन गरेर पारित गर्ने दिशातिर अघि बढ्नुपर्छ, भनेर मधेसी मोर्चासँग अत्यन्तै सकारात्मक छलफल भएको छ” –उनले भने।

उपप्रधानमन्त्री निधिले संसद्मा पेस भएको निर्वाचनसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो पारित गराएर त्यसपछि निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भएको उल्लेख गरे।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेर निर्वाचनमा जानेबारे छलफल भएको बताइन्।

उनले संशोधन प्रस्तावलाई कसरी अघि बढाउने भन्नेबारे अझै छलफल गरेर पारित गर्नेबारे दुवै पक्षबीच सकारात्मक कुराकानी भएको बताइन्।

बैठकमा सहभागी मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्नेबारे सकारात्मक छलफल भएको बताए।

उनले संशोधन परिमार्जन के के विषयमा गर्ने भन्नेबारे सरकार र मोर्चासहितको गठबन्धनबीच छलफल र समझदारी गरी पारित गर्ने निर्णय भएको उल्लेख गरे।

बैठकमा मोर्चाले न्यायाधीश नियुक्ति समावेशी सिद्धान्त विपरीत एकपक्षीय ढङ्गले गरिएकामा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष यादवले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि तथा मोर्चाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरम नेपाल ‘गणतान्त्रिक’ का अध्यक्ष राजकिशोर यादवलगायत शीर्ष नेताको सहभागिता थियो । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org