ताजा समाचार

पर्यटन व्यावसायी सुनारले ल्याए ‘हिमालको गोठालो’

गोरखाः पर्यटन व्यावसायी सुनारबहादुर गुरुङको आत्मकथा ‘हिमालको गोठालो’ प्रकाशित भएको छ । 

नेपालका पहिलो अन्तरराष्ट्रिय पथप्रदर्शक तथा त्रिनेत्र एडभेञ्चर प्रालिका कार्यकारी निर्देशक गुरुङको इतिहास समेटिएको पुस्तक सुनार ट्रस्ट नेपालले प्रकाशन गरेको हो । 
गोरखाको दुर्गम उत्तरी गाविस लाप्राक–५ का बासिन्दा गुरुङले पुस्तकमा आफ्नो गोठाले जीवन, भरिया जीवन र अन्तरराष्ट्रिय पथप्रदर्शक बन्दासम्मको भोगाई समेटेका छन् । 

पुस्तकमा १ सय ११ खण्ड रहेको छ । गत पुुस १५ गते काठमाडौँको टुँडिखेलमा तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका थिए । 

गोरखामा मङ्गलवार पत्रकारहरुसँगको भेटमा उनले पुस्तकबारे जानकारी दिएका हुन्। “यो किताब एउटा लेकमा जन्मेको बच्चाको यथार्थ हो । मेरो भोगाई यसमा लेखेको छु”, उनले भने ।

अभाव र समस्याबीच गाउँमा प्रारम्भिक शिक्षा मात्रै लिएका गुरुङले फ्रान्समा आफ्नै खर्चबाट पथप्रदर्शकको अन्तरराष्ट्रिय तालिम लिई नेपालकै पहिलो अन्तरराष्ट्रिय पथप्रदर्शक बन्न सफल भएका हुन् । 

“किताबमा लेकाली जीवनशैली र गोठालोको दिनचर्या त छँदैछ । ट्रेकिङमा आउने टुरिस्टको भारी बोकेर हिँड्दाको भोगाई, भरियाको समस्या र जोखिम पनि छ’’, उनले भने, ‘‘फ्रान्समा स्की, रक क्लाइम्बिङ, क्यानोनिङ र पौडी जस्ता तालिम लिँदा भोग्नुपरेका भाषिकदेखि अन्य समस्या र सफलता पनि यसमा छ ।”

पहिलो चरणमा ३ हजार प्रति पुस्तक छापिएको छ । ५ सय रुपैयाँ पर्ने यो पुस्तक बेचेर आएको सबै आम्दानी समाजसेवामा खर्चने लेखक गुरुङले जानकारी दिए । 

“मैले ट्रस्टमार्फत गाउँको शिक्षा, समाजिक काम, संस्कृति संरक्षण, पर्यटन विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छु’’, उनले भने, ‘‘किताब बेचेर आएको पैसा पनि त्यहीँ लगानी गर्छु ।” पुस्तक अङ्ग्रेजीमा पनि अनुवाद गर्ने तयारी भइरहेको सुनारले बताए । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org