ताजा समाचार

भूकम्पपीडितलाई तोकिएको बैंकबाट पहिलो किस्ताको अनुदान वितरण

भक्तपुर, ९ माघ ।  भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही)लाई भोलि सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण गरिने भएको छ ।

जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड तोकिएको बैंकमार्फत भोलिदेखि वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुवप्रसाद कोइरालाले जानकारी दिए।

सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित बैंकहरुमा पठाइसकेको जानकारी दिँदै उनले भने–“कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंकहरुमा पठाएको रकमको आज चेक क्लिरियन्स गरेपछि अधिकांश बैंकले भोलिदेखि लाभग्राहीलाई पहिलो किस्ताबापतको रु ५० हजार रकम वितरण गर्ने थाल्ने छन् ।”

चेक क्लिरियन्स गर्न केही समय लाग्ने बैंकमा भने थप एक दुई दिनपछि वितरण हुने उनको भनाइ छ । अन्य जिल्लाका भूकम्पपीडितलाई सरकारले दोस्रो किस्ताको अनुदान रकम वितरण सुरु गरेपनि भक्तपुरका लाभग्राहीले भने निजी आवास पुनःनिर्माणका लागि भूकम्प गएको २० महिनापछि अनुदान रकम पाउन लागेका हुन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेका छन् ।

कोइरालाकाअनुसार नगरपालिकाले सम्झौता गरी पठाएकामध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखा नियन्त्रण कार्यालय पठाएको थियो ।

कोइरालाले भने– “कोलेनिकाले १८ हजार लाभग्राहीलाई अनुदान रकम वितरण गर्न पुग्ने गरी बैंकमा रकम पठाएको छ । थप लाभग्राहीका लागि नपुग रकम छिटो पठाउन जिविसले माग गरेको छ । थप रकम आएपछि लाभग्राहीको सूचीमा रहेका सबैले पहिलो किस्ताको अनुदान रकम पाउँछन् ।”

सम्झौता भएका लाभग्राहीलाई रकम वितरण गर्न अझै रु १० करोड ७५ लाख रकम नपुग छ । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै रु ४० करोड आठ लाख अपुग रहेको छ ।

अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता हुने लाभग्राहीलाई वितरण गरिने भएको छ । सुरु सुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूचीअनुसार क्रमैसँग वितरण गरिन्छ, पछाडि सम्झौता भएकाहरुले पछाडि नै रकम पाउने उहाँको भनाइ छ ।

भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् ।

जिविस भक्तपुरले आजदेखि नै पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने झुटो प्रचार गराएको भन्दै बैंकहरुमा पुगेका लाभग्राहीले जिविस विरुद्ध आक्रोश पोखेका छन् । जिविसले लाभग्राहीलाई दुःख दिने नियतले गलत प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

अनुदान सम्झौता भएका लाभग्राहीले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ । यसमा भक्तपुर नगरपालिकाले लाभग्राहीमध्ये वडा नं. १, २, ३, ४, ५, ६ र ९ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड कमलविनायकबाट, ७, ८, ११, १२ र १४ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायकबाट र १०, १३, १५, १६ र १७ वडाका लाभग्राहीले कृषि विकास बैंक दूधपाटीबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी, मध्यपुरठिमी नगरपालिकाको वडा नं १, २ र ३ का लाभग्राहीले मेगा बैंक लिमिटेड बाहाखा बजारबाट, ४, ५ र ६ का लाभग्राहीले कृषि विकास बैंक, ७, ८, ९, १० र १७ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंकबाट, ११ र १२ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड ठिमी शाखाबाट, १३ र १४ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक ठिमीबाट, १५ वडाका लाभग्राहीले सिद्धार्थ बैंक गठ्ठाघरबाट र १६ वडाका लाभग्राहीले एनआइसी एसिया कौशलटार शाखाबाट अनुदान रकम लिन पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, नगरकोट नगरपालिका–१ देखि १० वडाका लाभग्राहीलाई यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र ११ देखि १३ वडाका लाभग्राहीलाई माछापुच्छ्रे बैंक कमलविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।

यता, चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक कमलविनायकबाट, ५, ६ र ७ तथा १७ वडाका लाभग्राहीले यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र १२ देखि १६ वडाका लाभग्राहीले कृषि विकास बैंक सल्लाघारीबाट अनुदान रकम पाउने व्यस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिकाको वडा नं १ देखि ५ सम्मका लाभग्राहीले एनएमबी बैंक सूर्यविनायकबाट, वडा नं ६ देखि ८ सम्मकाले सानिमा बैंक सूर्यविनायकबाट, ९ देखि ११ वडाका लाभग्राहीले ग्लोबल आइएमई बैंक सूर्यविनायकबाट र १३ देखि १५ वडाका लाभग्राहीले बैंक अफ काठमाडौँ लुम्बिनी सूर्यविनायक शाखाबाट अनुदान रकम पाउनेछन् ।

यता, अनन्तलिङ्गेश्वर नगरपालिकाका लाभग्राहीमध्ये भने वडा न १ देखि ५ सम्मकाले हिमालयन बैंक कौशलटारबाट, ६ देखि ८ सम्मकाले लक्ष्मी बैंक कौशलटारबाट, ९ देखि १२ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक नयाँ ठिमीबाट र १३ देखि १५ वडाका लाभग्राहीलाई एभरेस्ट बैंक सूर्यविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।

 

जग्गाधनी पुर्जा नभएकाहरूले सम्झौता गर्न पाउने

भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भए पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडितहरुले अब सम्झौता गर्न पाउने भएका छन् ।

मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरण सम्बन्धी कार्यविधि २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७३’ स्वीकृत गरेसँगै जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएका पीडितको अनुदान सम्झौता गर्ने बाटो खुल्ला भएको हो ।

यसअघि जग्गाधनी पुर्जा नभएकै कारण भक्तपुरमा ६ हजार भन्दा बढी पीडितले लाभग्राहीमा नाम समावेश भए पनि अनुदान सम्झौता गर्नबाट वञ्चित हुँदै आएका थिए । नयाँ कार्यविधिले मध्यपुर थिमि नगरक्षेत्रका स्ववासी जग्गाधनी, मोहियानी हक निस्सा मात्र भएका र गुठीको नाममा जग्गा भएकाले समेत अनुदान सम्झौता गर्न पाउने भएका छन् ।

नयाँ कार्यविधिको अनुसूची–१ को बुँदा २ (ग) मा कुनै ठाउँमा जग्गा नापी नै नभएको तर बस्ती बसेको अवस्थामा त्यस्ता बस्तीका घरलाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा त्यस्तो बसोवास भएको जग्गा व्यक्तिगत भए नापी गराई सम्बन्धित व्यक्तिको नाममा नियमानुसार जग्गाधनी प्रमाणपत्र प्राप्त भएपछि वा सम्बन्धित स्थानीय निकायको सिफारिस र सर्जमिन मुचुल्काको आधारमा तोकिए बमोजिमको अनुदान रकम उपलब्ध गराउने छ, भन्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले विशेषगरी स्ववासी जग्गाधनीलाई अनुदान सम्झौता गर्न बाटो खोलेको मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठले बताए।

त्यसैगरी, कार्यविधिको बुँदा नं १२ मा ‘सार्वजनिक सरकारी र वनक्षेत्रको जग्गाबाहेक विभिन्न किसिमका गुठी, बिर्ता र गुठी अधीनस्थ जग्गा, मोही लागेको जग्गा, स्ववासी, बेनिस्सा, गाउँ ब्लक कोदाली, आँकडा, विटौरी, उखडासमेतका जग्गामा बसोबास भई क्षति भएका लाभग्राहीका हकमा निजी बसोवासीसँग घरबास भएको जग्गाको भोग सम्बन्धी कुनै निस्सा, रसिद वा पुर्जी भए सो निस्सा, रसिद वा पुर्जीको आधारमा स्थानीय निकायले गरिदिएको सिफारिस र त्यस्तो निस्सा, रसिद वा पुर्जी नभएको अवस्थामा सोही व्यहोराको सिफारिस वा क्षतिग्रस्त घरबास भएको जग्गाका कम्तीमा दुईजना सँधियारले घरबास भएको जग्गाको भोगचलन गरेको हो भनी गरिदिएको सर्जिमन मुचुल्काका आधारमा त्यस्ता घरधनी लाभग्राहीसँग घर निर्माण अनुदान सम्झौता गर्न सकिनेछ,’ व्यवस्था गरेको छ । तर त्यस्तो सम्झौतालाई जग्गा दर्ताको प्रमाणको रुपमा भने नलिइने र यससँग अन्य व्यवस्था अनुसूची ६ बमोजिम हुने व्यवस्था गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जग्गा व्यवस्थापन तथा भौगर्भिक अध्ययन शाखाका प्रमुख नापी अधिकृत कमल घिमिरेले जानकारी दिए।

यस व्यवस्थाले मोहियानी हक निस्सा भएका, गुठीको जग्गा र बसोवासी जग्गाको भोग सम्बन्धी कुनै निस्सा, रसिद वा पुर्जी मात्र भए पनि अनुदान सम्झौता गर्न सकिने व्यवस्था गरेको पूर्वमेयर श्रेष्ठले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org