ताजा समाचार

प्रहरीमा देखियो अनौठो दृश्यः खोरमा एसएसपी,ड्युटीमा सिपाही !

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआइबी’ को कार्यालयको वातावरण एकाएक फेरिएको छ । अघिल्लो दिनसम्म सलाम हानिरहेको आफ्नै एसएसपी ‘सुन तस्कर’को आरोपमा हिरासतमा थुनिएपछि नफेरियोस् पनि कसरी ?

समाजमा शान्ति सुरक्षा प्रदान गर्न देश र जनताको कसम खाएर एसएसपीको फुली लगाएका श्याम खत्री विमानस्थलमा ३४ किलो सुन काण्डको आरोपमा हेडक्वार्टरबाटै समातिए । खत्री अहिले सीआइबीको हिरासतमा छन ।  उनीसँगै विभिन्न युनिटमा काम गरेका केही अधिकृतहरु सकेसम्म एसएसपी खत्रीको सामुन्ने पर्नु नपरोस् भन्दै तर्किइरहेका छन् ।

ब्युरोका प्रमुख डीआइजी नवराज सिलवाललाई भने सोमबार भ्याइनभ्याई थियो । १० बजेको नियमित बैठकका लागि समेत सिलवाल आउन भ्याएनन् । करिब साढे १ बजे तिर कार्यालय छिरेका सिलवाल निकै थकित मुद्रामा देखिन्थे ।

डीआइजी सिलवालको प्रहरी जीवनमा पनि आइतबारको घटना निकै नौलो थियो । कुनै दिन सँगै प्रहरीमा भर्ना पुगेको साथीलाई हत्कडी लगाउने निर्णय गरेका थिए उनले ।

एसएसपी खत्री र डीआइजी सिलवाल ०४४ सालमा सँगै प्रहरीमा भर्ना हुन पुगेका थिए । तर सिलवाल पहिलो पटक भर्ना भएका थिए भने खत्री दोस्रो चरणमा छानिएनन् । र, वैकल्पिकमा परे । उनी ०४५ सालमा प्रहरी संगठनमै आए ।

करिब पाँच वर्षअघि सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला श्रीमती हत्या काण्डको आरोपमा पक्राउ परेका थिए । उनलाई पनि आफ्नै ब्याजी काठमाडौं परिसरका तत्कालीन एसपी राजेन्द्र श्रेष्ठले हत्कडी लगाएका थिए ।

ब्युरोका डीएसपी प्रवीण पोखरेलको जीवनमा आइतबारको घटना कहिलै नविर्सने दिन भएको छ । नेपाल प्रहरीको इतिहासमा कहिल्यै नभएको घटनामा डीएसपी पोखरेल कमाण्डर बनेका थिए ।

आफ्नै हाकिमलाई हेडक्वाटरबाटै बर्दी फुकाल्न लगाएर हिरासतमा ल्याउने डीएसपी पोखरेल सोमबार खत्रीको बयान लिन र प्रमाण संकलन गर्न व्यस्त थिए । डीएसपी पोखरेल भन्छन्- ‘प्रहरीको जागिर खाइयो, प्रहरीकै हाकिम समात्नुपर्ला भनेर कसले सोचेको हुन्छ र रु तर, पनि कानुनले दिएको जिम्मेवारी पूरा गर्नैपर्छ ।’

एसएसपी खत्रीलाई थुनामा राख्ने म्याद थप्न पनि डीएसपी पोखरेल आफैं सोमबार जिल्ला अदालत पुगेका थिए । सोमबार जिल्ला अदालत काठमाडौंले एसएसपी खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org