ताजा समाचार

आज पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पहिलो स्मृति दिवस

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका तात्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको प्रथम पुण्य स्मृति दिवस, कांग्रेस एवम् उसका भ्रातृ संघ संस्थाले कोइरालाको सम्झना गर्दैछन् ।

स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले केहीवेरमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रमलाई सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै सुशील कोइराला फाउण्डेशनले पनि कोइरालाको सम्झनामा साँझ दीप प्रज्ज्वलन गर्दैछ ।

१९९५ सालमा विराटनगरमा जन्मिएका कोइरालाको गत वर्ष माघ २६ गते राजधानीको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।

उहाँको निधनमा अनेकन चर्चा बाहिर आएपनि उपचारमा संलग्न चिकित्सकहरुले निमोनियाका कारण निधन भएको बताएका छन् । पार्टीको १३ औं महाधिवेशनमा सभापतिको प्रत्यासी समेत रहेका कोईरालाको महाधिवेशनको करिब एक महिना अघि निधन भएको थियो ।

उहाँको निधनपछि दुई खेमामा विभाजन भएको तात्कालिन संस्थापन पक्ष अहिले पनि रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमाका रुपमा पार्टीमा चिनिन्छ ।

दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसलाई संसदको पहिलो पार्टी बनाउन सफल कोइराला, एमालेको सहयोगमा मुलुकको प्रधानमन्त्री बन्नु भएको थियो ।

गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्रीमा निर्बाचित भएपछि उहाँकै प्रधानमन्त्रीत्वकालमा गणतन्त्र नेपालको पहिलो संबिधान जारी भएको थियो ।

गणतन्त्रात्मक नेपालको पहिलो संविधान निर्माण र घोषणाको नेतृत्व गरेका कोईराला एमालेलाई सत्ता हस्तान्तरणको सहमति कार्यान्वयन नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचित समेत बन्नु भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको उम्मेद्वार बन्दा आफुले समेत उम्मेद्वारी दिएका कोइराला पराजित मात्र हुनु भएन, संविधान घोषणाको नेतृत्व गरेको कांग्रेस कार्यान्वयनका समय प्रतिपक्षीमा बस्न बाध्य भयो ।

सरकारमा आउन ओलीले बारम्बार गरेको आग्रह वेवास्ता गरेका कोइरालाको तात्कालिन रणनीतिका कारण बढेको दलीय ध्रुविकरण अहिले समेत सहज बन्न सकेको छैन ।

कोइराला करिव २० महिना मुलुकको कार्यकारी प्रमुख बन्नुभयो । नेपालकै सवैभन्दा गरिव प्रधानमन्त्रीको पगरी भिरेका अविवाहित कोइरालाले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा तीन वटा मोबाइल मात्र देखाउनुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org