ताजा समाचार

चुनावको मिति घोषणा गर्न मधेसी मोर्चा बाधक

 

चितवन, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वैशाख वा जेठमा निर्वाचन हुने बताउँदै मिति भने मधेसी मोर्चासहित अन्य दलसँगको सहमतिपछि मात्र तय गरिने बताउनुभयो ।

मन्त्रिपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिएको भन्दै उहाँले यो नै मिति तोक्नुसरह भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो “मधेसी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु छ, त्यसका निम्ति मात्रै प्राविधिक रुपमा गते नभनिएको हो ।”

संविधान संशोधन विधेयक पारित गराउने पहिलो कोसिस हुने भन्दै उहाँले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्काे प्रयास थालिने बताउनुभयो । स्थानीय तहसम्बन्धी सम्पूर्ण ऐन बनिसकेको भन्दै उहाँले निर्वाचनका लागि आवश्यक पर्ने कुनै ऐन बन्न बाँकी छैन भन्नुभयो ।

उहाँले थ्रेसहोल्डसम्बन्धी ऐन अहिले भर्खर आवश्यक नरहेको बताउनुभयो । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि कार्यदल बनाएर मन्त्रिपरिषद्ले १५ दिनको समयसमेत दिइसकेको पनि उहाँको भनाइ थियो । उहाँले सोही रिपोर्टका लागि दुई हप्ता सदन स्थगित गरिएको पनि बताउनुभयो ।

स्थानीय तहको निर्वाचन हुनेमा कुनै शङ्का नरहेको भन्दै उहाँले तहसम्बन्धी ऐन बनेर पारित भइसकेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षाी नेकपा (एमाले)ले निर्वाचन गर्न नसके सरकार छोड्नुपर्ने बताइरहको छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो “मैले निर्वाचन गर्ने प्रतिबद्धता मात्रै होइन, प्रक्रिया नै अगाडि बढाइसकेको छु, तयारी अगाडि बढिसकेको छ ।”

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org