ताजा समाचार

प्रहरीमा आइजीपी बढुवा,चन्दको पल्ला भारी

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महानिरीक्षक (आइजीपी) आगामी फागुन २ बाट रिक्त हुँदैछन् । सशस्त्रमा खासै बिवाद नभए पनि नेपाल प्रहरीमा भने आइजीपी बढुवामा ठूलो राजनीतिक चलखेल भइरहेको छ ।
प्रहरीमा जयबहादुर चन्दको पल्ला भारी देखिन्छ भने सशस्त्रमा सिंहबहादुर श्रेष्ठ बिवादरहीत आइजीपी बन्दैछन् । प्रहरीमा बरियतामा डिआइजी नवराज सिलवाल पहिलो नम्बरमा छन् भने प्रकाश आर्याल दोस्रो नम्बरमा छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त नेतृत्वमा सरकार रहेकोले सशस्त्रमा माओवादीले र प्रहरीमा कांग्रेसले भागबण्डा गरेको प्रधानमन्त्री कार्यालय स्रोतहरुको दावी छ ।
डिआइजी चन्द र कांग्रेस सभापति शेरबहादुर देउवा पश्चिम क्षेत्रका भएकै कारण देउवाले चन्दलाई आइजीपी बनाउन उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीलाई कडा निर्देशन दिएको बढुानीलकण्ठ स्रोतको भनाइ छ ।
स्रोत भन्छ, ‘सभापति देउवाले गृहमन्त्री निधीलाई बुढानीलकण्ठ निवासमै बोलाएर चन्दलाई आइजीपी बनाउनु, नत्र राजीनामा दिन तयार रहनु भनिसक्नु भएको छ ।’
सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी बरियतामा अगाडि रहेका व्यक्तिलाई नै आइजीपी बनाउनु पर्ने अडानमा थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि बरियतामा अगाडि रहेकै व्यक्तिलाई आइजीपी बनाउनु पर्ने अडानमा थिए । तर, समिकरणको सरकार भएकोले कांग्रेसले चन्दको पक्ष लिएपछि सरकार नै ढल्ने खतरा उत्पन्न हुने भन्दै प्रधानमन्त्री प्रचण्ड पछि हटेका हुन् ।
एक डिआइजीका अनुसार निर्णय नभएसम्म यसै भन्न सकिन्न तर पछिल्लो अवस्था मूल्याङ्कन गर्दा डिआइजी चन्द आइजीपी बन्ने सम्भावना बलियो बनेको छ ।
पुलिसिङमा सिलवाल र चन्द काबिल नै मानिन्छन् । चन्दले महानगरीय प्रहरी परिसर काठमाडौं, ट्राफिक प्रहरी महाशाखा र लागु औषध नियन्त्रण ब्युरोमा रहेर राम्रो काम गरेका छन् भने सिलवाल पूर्व क्षेत्र, प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरोमा रहेर चर्चामा रहे । पछिल्लो समय ३४ किलो सुन बरामद गरेर चर्चामा रहेका सिलवालको पक्षमा कांग्रेसकै रामचन्द्र पौडेल पक्ष दह्रोसँग उभिएको छ ।
‘जे होस्, आगामी आइतबार बस्ने मन्त्री परिषद् बैठकले चन्दलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा बढुवा गर्ने छ ।’ एक प्रहरी अधिकारीले न्युज-नेपालसँग भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org