ताजा समाचार

एआइजी बन्न डिआइजीहरु चाकडीमा व्यस्त

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) का पद थप गर्न तीब्र लबिङ सुरु भएको छ । यसअघि १४ जनासम्म एआइजी रहेकोमा हाल प्रहरी नियमावलीमा ३ जनामात्र राख्ने व्यवस्था गरिएकोले त्यसलाई हटाउन एआइजीका आकांक्षीहरु लबिङमा उत्रेका हुन् ।
एमाले नेता बामदेव गौतम गृहमन्त्री भएको समयमा एआइजी बढुवाको विवाद सर्वाेच्च अदालत पुगेको थियो । सरकारले ८ जना एआइजीको संख्या भएकोमा २ पद बिशेष सिर्जना गर्दै १० जनालाई बढुवा गरेपछि बढुवामा छुटेका ४ जना सर्वाेच्च पुगेका थिए । सर्वाेच्चले ती चार जनालाई नै एआइजी बनाउन निर्देशन दिएपछि १४ जना एआइजी भए । तीमध्ये १३ जना प्रशासन र १ जना प्राविधिकतर्फका थिए ।  अब प्राविधिकतर्फ १ र प्रशासनतर्पm ३ जनामात्र रहने व्यवस्थापछि एआइजीका आकांक्षीहरु पद थप गर्न शक्ति केन्द्र धाउन व्यस्त छन् ।
डिआइजीहरु देवेन्द्रजंग सुवेदी, केशरीराज घिमिरे, कमलसिंह बम, पशुपति उपाद्यायसमेतका डिआइजीहरु पद थप गर्न दौडधुप गरिरहेको स्रोतहरुको दावी छ ।
सशस्त्र प्रहरीमा एआइजीको पद ६ वटा छ भने नेपाली सेनामा एआइजी हैसियतको उपरथीका २० पद छन् । ‘३६ हजार संख्यामा रहेको सशस्त्रमा ६ जना अनि ७२ हजारको संख्यामा रहेको नेपाल प्रहरीमा ४ जनामात्र एआइजी हुनु नियमसंगत होइन ।’ एक डिआइजीले भने ।
प्रहरीमा एआइजीको पद थप नभए हाल आइजीपीका प्रतिस्पर्धी जयबहादुर चन्द, नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्ये एक आइजीपी बनेपछि बाँकी ३ जनामात्र एआइजी हुनेछन् । सुवेदी, बम, घिमिरे, उपाध्यायहरुको समूह डिआइजीबाटै घर जानु पर्ने हुन्छ । त्यसैले यो समूह एआइजीका पद थप गर्दै घटीमा पनि ८ वटा पु¥याउन लबिङमा उत्रेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org