ताजा समाचार

सरकारद्वारा छ जिल्लामा प्रारम्भिक पढाइ कक्षा सुरु

भक्तपुर, ५ फागुन । कक्षा एक देखि तीनसम्म अध्ययन गर्ने विद्यार्थीको पठन सीप वृद्धि गर्न सरकारले छ जिल्लाका सामुदायिक विद्यालयमा नमुनाका रुपमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु गरेको छ ।

शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय भक्तपुरमा आयोजना गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मिडिया अभिमुखीकरण कार्यक्रममा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले यो कार्यक्रम यसैवर्षदेखि लागू भएको जानकारी दिनुभयो ।

पहिलो चरणमा भक्तपुर जिल्लालगायत कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरीमा यो कार्यक्रम सुरु भएको हो । विद्यार्थीको तल्लो कक्षामै पढाइ कमजोर देखिएपछि पठन सीपमा सुधार गर्न भक्तपुर जिल्लाका १२९ सामुदायिक विद्यालयमा प्रारम्भिक पढाइ कक्षा सञ्चालन गरिएको छ ।

चालु शैक्षिकसत्रदेखि सुरु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय भाषाका पाठ्य तथा सिकाइ सामग्रीको गुणस्तर सुधारमा जोड दिइएको उपनिर्देशक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अर्ली ग्रेड रिडिङ मूल्याङ्कनले कक्षा २ मा अध्ययनरत ६४ प्रतिशत र कक्षा ३ मा अध्ययनरत ८१ प्रतिशत बालबालिकामा नेपाली पठन सीप अत्यन्तै कमजोर रहेको तथ्य फेला पारेको थियो ।

उक्त मूल्याङ्कनअनुसार अधिकांश विद्यार्थीको पठन सीप अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम रहेको पाइएपछि प्रारम्भिक पढाइ कक्षाको पठन सीपअन्तर्गत सुनाइ, पढाइ, लेखाइ र बुझाइका आधारमा विद्यार्थीको सिकाइ सुधार गर्ने कार्यक्रमको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालका विद्यार्थीको पठन सीप दक्षिण एसियामै कमजोर रहेको अनुसन्धानले देखाएको बताउँदै उपनिर्देशक अधिकारीले एक देखि तीन कक्षाका विद्यार्थीको पठन सीप विकास गर्न नेपाल सरकार र अमेरिकी सरकारबीच सम्झौता भई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले भक्तपुरका प्राथमिक तहका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून रहेको र यो कार्यक्रमले विद्यार्थीको आकर्षण बढ्दै गएको बताउनुभयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको पञ्चवर्षीय कार्यक्रमअन्तर्गत नमुनाका रुपमा छ जिल्लामा कार्यक्रम सुरु भए पनि यसलाई १५ जिल्लामा विस्तार गर्ने र पाचवर्षभित्र देशभर यो कार्यक्रमलाई लैजाने प्रारम्भिक पढाइ कक्षा कार्यक्रमकी सहजकर्ता हितकुमारी गुरुङले बताउनुभयो ।

कार्यक्रमबाट छ जिल्लाका पाँच हजार समुदाय परिचालन भई सात लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र पाँच हजार प्रधानाध्यापक लाभान्वित हुने उहाँले बताउनुभयो । कार्यक्रमका लागि नियोगको पाँच करोड ३८ लाख डलर सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्षअघि नै सञ्चालनमा ल्याए पनि यो वर्षबाट मात्र विद्यालय तहमा लागू भएको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org