ताजा समाचार

शङ्खरापुरलाई कागेश्वरी नपामा विलय नगराउन माग

 

काठमाडौँ, ५ फागुन । शङ्खरापुर नागरिक समाजले स्थानीय निकाय पुनःसंरचना आयोगबाट सरकारलाई बुझाएको प्रतिवेदन जनभावना विपरीत रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सांसद दीपक कुइँकेलले शङ्खरापुरका जनताको परिचय, त्यहाँको इतिहास मेटाउने गरी शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउन नहुने बताउनुभयो ।

उपत्यकाको पुरानो तर भौगोलिक रुपमा ठूलो यस सांस्कृतिक सहर शङ्खरापुर नगरपालिकालाई यथास्थितिमा नै निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।

समाजका संयोजक रुपेशलाल श्रेष्ठले सो नगरपालिका विलय गरिएमा दुर्गम पहाडी स्थानका जनताले स्थानीय नगरपालिकाबाट पाउनुपर्ने सेवा र सुविधाबाट वञ्चित हुने र जनजातिको पहिचान खतरामा पर्ने बताउनुभयो ।

विसं २०७१ मा मङ्सिर १६ गते ती दुवै नगरपालिका घोषणा गरिएको थियो । हाल शङ्खरापुर नगरपालिकामा २५ हजार तथा कागेश्वरी मनहरा नगरपालिकामा ७५ हजार जनसङ्ख्या रहेका छन् ।

आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न आग्रह गर्दै समाजले त्यसो नभएमा सशक्त आन्दोलनका कार्यक्रम गरिने चेतावनीसमेत दिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org