ताजा समाचार

चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा, यस्तो छ कार्यतालिका

काठमाडौं । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीन दिने नेपाल भ्रमणका बिहीबार काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो ।

चीनले राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सवारीसाधनलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। प्राविधिक सहयोग निरन्तरताका लागि समझदारी पत्रमा हस्ताक्षर हुन लागेको रक्षा मन्त्रीले बताए।

चीनले नेपाली सेनालाई दिने सैन्य सहयोग वृद्धिसम्बन्धी अर्को समझदारी पत्रमा पनि हस्ताक्षर हुनसक्नेछ। चीनले अघि बढाएको ‘वन बेल्ट वन रोड’ अवधारणामा नेपालको सहभागिताबारे पनि भ्रमणमा कुराकानी हुनेछ। चीन र नेपालबीच संयुक्त सैन्य तालिमको पूर्वसन्ध्यामा चिनियाँ रक्षामन्त्री नेपाल आएका हुन्।

उनी यहाँबाट बंगलादेश भ्रमणमा जाने छन्। नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चीनसँग सैन्य तालिमबारे गृहकार्य जारी रहेको तर टुंगिइनसकेको बताए। श्रीलंका भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री चाङ नेपाल हुंदै स्वदेश फर्किनेछन्।

चिनियाँ रक्षामन्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ भेट्नेछन् । रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्ने तय भएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले सोही दिन भेटवार्ता गर्नेछन् ।

यसअघि सोही दिन बिहान मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने तय भएकोछ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org