ताजा समाचार

बक्यौता नतिर्ने मन्त्रालयको पानी बन्द गर्न मन्त्रीको निर्देशन

- बिमला सापकोटा/न्युज-नेपाल

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले खानेपानीको बक्यौता नतिर्ने मन्त्रालय तथा सरकारी कार्यालयहरुमा पानीको आपूर्ति बन्द गर्न निर्देशन दिएका छन् ।विभिन्न सरकारी निकायहरुले लामो समयदेखि खानेपानीको महशुल नतिरेको थाहा पाएपछि मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री शाहीले खानेपानीको बक्यौता तिर्न सुरुमा लिखित रुपमा सबै निकायलाई जानकारी दिने र त्यति गर्दा पनि अटेर गरेमा पानीको आपूर्ति बन्द गर्ने चेतावनी दिए । शाहीले खानेपानीको बक्यौता रहेका सबै निकायलाई तत्काल पत्र काट्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड  ‘  केयुकेएल  ’ निर्देशन दिएका छन् ।

उनले खानेपानी नियमित आपूर्ति भइरहे पनि सेवा शुल्क नतिरेर केयुकेएललाई धराशायी पार्न खोजिएको टिप्पणी गरे ।केयुकेएलले उठाउनुपर्ने बक्यौता एक अर्ब ४३ करोड रुपैयाँ पुगेको र त्यो मध्ये सरकारी निकायबाट मात्रै ४२ करोड ३१ लाख १९ हजार उठाउन बाँकी रहेको समेत बताए ।

‘बक्यौता रकम तत्काल तिर्न मन्त्रालयहरूलाई पत्र काट्नुस्’ उनले केयुकेएलका अधिकारीलाई निर्देशन दिए, ‘त्यति गर्दा पनि बक्यौता रकम बुझाउन अटेर गरे सीधै आपूर्ति बन्द गरिदिनुहोस् । त्यसको नेतृत्व मैले गर्छु । आवश्यक परे पाइप पनि काटौंला ।’

केयुकेएले उचित व्यवस्थापन नगरेको भन्दै यसको उचित व्यवस्थापन र नियमित अपडेट गर्नुपर्नेमा मन्त्री शाहीले जोड दिएका छन् । शाहीले खानेपानीको चुहावट नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न समेत निर्देशन दिए ।

मन्त्री शाहीले मेलम्ची खानेपानी लगायतका निकायका आयोजना प्रमुखलाई मन्त्रालयमा बोलाएर आयोजना निर्माणमा ढिलाइ नगर्न सचेत गराएका छन् । उनले मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पिच गर्न निर्देशन दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org