ताजा समाचार

पहरा फुटाउन सेनाद्वारा मनास्लु पदमार्ग अवरुद्ध

गोरखा, २५ चैत । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत सोती–लापु बेँसीखण्डमा पर्ने पहरा फुटाउन सेनाले विस्फोटनको तयारी गरेपछि पदमार्गमा हिँडडुल गर्न रोक लगाइएको हो ।

लापुभीरको बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाका विभिन्न गाउँ जान मान्वु हुँदै आवागमन गर्नुपर्ने भएको छ । सेनाले पदमार्गको विकल्पमा अर्को बाटो नदेखाइ सडकको ट्र्याक खन्न भिरको पहरा फुटाउन विस्फोटनको तयारी गरेकाले मानिस तथा सामग्री बोक्ने खच्चड आवागमनमा गत सोमबारदेखि बन्द गरेकाले स्थानीयवासी रुष्ट भएकाछन् ।

सडक निर्माण कार्यदलका संयोजक नेपाली सेनाका निशान्त क्षेत्रीले एकपाइले भिरको पहरो फुटाउन विस्फोटनको तयारी गर्दै आएको बताउनुभयो ।

उत्तरी भेगमा सडक सुविधा पुगेको छैन । दिनहुँ एक हजार ५०० वटा खच्चडले चुम तथा न्रुवीमा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । मनास्लु पदमार्गको विकल्पमा मान्वु हुँदै आवागमन गर्ने बाटो साँघुरो हुँदा पदयात्रा र खच्चड हिँडाउन समस्या भएको स्थानीय हर्कबहादुर गुरुङले जानकारी दिनुभयो । मनास्लु पदमार्ग भएर उत्तरी भेगका १४ वटा गाउँ पुग्न सकिन्छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अवरुद्ध पदमार्गको विकल्पमा मान्वुको बाटो सञ्चालन गरिएको भन्दै खच्चड हिँड्न सक्ने गरी बाटो र पुल फराकिलो बनाउन प्राविधिक अध्ययन भइरहेको जानकारी दिनुभयो । मनास्लु पदमार्ग आसपास हुँदै उत्तरी भेगसम्म पुग्ने सडकको नयाँ ट्र्याक खन्ने काम नेपाली सेनाले अघि बढाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org