ताजा समाचार

आईजीपी नियुक्ति बदरको माग गर्दै डिआईजी सिलवाल फेरि सर्वोच्चमा

काठमाडौं । प्रहरी नायव महानिरीक्षक ‘डिआईजी’ नवराज सिलवालले सर्वोच्च अदालतमा मंगलबार दोस्रो रिट दर्ता गरेका छन् ।

प्रहरी महानिरीक्षक ‘आईजीपी’मा प्रकाश अर्याललाई गरेको नियुक्त बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी उनले रिट दर्ता गरेका हुन् ।

सरकारले सोमबार आईजीपीमा डिआईजी अर्याललाई नियुक्त गरेको थियो । उनलाई सोमबार राति नै महानिरीक्षकको दर्जायानी चिन्ह प्रदान गरिएको छ ।

डिआईजी सिलवाल कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्ट छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् ।

यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो ।
सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनस् नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।
त्यतिबेला चन्दलाई वरीयता क्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org