ताजा समाचार

अग्निपीडितलाई प्रशासनको राहत

इनरुवा, ४ वैशाख । जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ ।

आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो ।
साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित ४२ परिवारलाई प्रशासनका तर्फबाट जनही रु पाँच हजारका दरले राहत रकम वितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बिहीबार मध्याह्न आगलागी हुँदा ४२ परिवारका ६० बढी घरटहरा जलेर पूर्णरुपले नष्ट भएका थिए । आगलागीमा रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुनसरी सदरमुकाम इनरुवामा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । १२ वटा स्थानीयतहको निर्वाचनलाई संयोजन गर्न सदरमुकाम इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

इनरुवामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले इनरुवा नगरपालिकाको निर्वाचनको नेतृत्वसमेत गर्नेछ । मुख्य जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई सुनसरीको मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
सुनसरीमा दुई उपमहानगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org