ताजा समाचार

प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त रुपमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री र कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थिति र संयुक्त राष्ट्र सङ्घको संलग्नतामा निर्माणाधीन विकास आयोजनाका बारेमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयनका लागि यही वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण , नवनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार प्रयत्नशील रहेको जानकारी दिँदै त्यसका लागि संयुक्त राष्ट्र सङ्घको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।

नेपालको शान्ति प्रक्रिया र विकास आयोजनामा संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण सहयोग रहेको भन्दै त्यसका लागि प्रधानमन्त्रीले कार्यकारी प्रमुखलाई धन्यवाद दिनुभयो ।

भेटमा विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त राष्ट्र सङ्घका विकास सङ्गठनको संलग्नतामा नेपालमा सञ्चालित विकास आयोजनाहरुको प्रगति सकारात्मक रहेको बताउँदै थप लगानीका लागि आफ्नो तर्फबाट पहल हुने जानकारी दिनुभयो ।

भेटमा संयुक्त राष्ट्र सङ्घअन्तर्गत युनिसेफका कार्यकारी प्रमुख वाल्टन अल्फन्सो वेबसन, पानामाका स्थायी प्रतिनिधि लाओरा एलिना हेरेरा, युएइका स्थायी प्रतिनिधि लाना नुस्सेबेह, मोक्सिकोका युएनका राजदूत मार्था बार्सेना, जापानका लागि युएनका राजदूत हिरोशी मिनामी, एरेटियाका स्थायी प्रतिनिधि अमानुएल जिओर्जियो, युनिसेफका बोर्ड सेक्रेटरी निकोलास प्रोन र नेपालका लागि राष्ट्र सङ्घका स्थायी प्रतिनिधि भ्यालरी जुलियन सहभागी हुनुहुन्थ्यो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org